काठमाडौं – जाजरकोट छेडागाड गाउँपालिका ३ का एक दलित युवाले एमालेबाट कांग्रेसमा प्रवेश गरेकै कारण आफ्नै साथीबाट रगताम्य हुनेगरी कुटाइ खाएका छन् ।जातीय अपहेलित हुने शब्दको प्रयोग गर्दै सोही गाउँका नेकपा एमाले जिल्ला कमिटी सदस्य सत्यनारायण गिरीले उनलाई कपडा खोलेर रगताम्य हुनेगरी कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय जाजरकोटले सत्यनारायण गिरीले लालबहादुर नेपालीलाई जातीय अपहेलित हुने शब्द प्रयोग गर्दै रगताम्य हुनेगरी कुटपिट गरेको जनाएको छ ।जाजरकोट प्रहरीका सूचना अधिकारी प्रहरी इन्सपेक्टर खुमानन्द पाण्डेका अनुसार घटना आइतबार साँझ साढे ६ बजेको हो ।
‘‘गिरी र नेपाली पहिलेदेखि एमाले पार्टीमा आवद्ध एउटै गाउँका साथी रहेछन् । आइतबार गिरी र पिडित नेपालीले स्थानीय दिनेशको होटलमा बसेर जाँडरक्सी खाएका रहेछन् । रक्सी खाने क्रममा पार्टी प्रवेशकै विषयमा विवाद भएछ । त्यसपछि नेपालीमाथि हातपात भएको रहेछ,” उनले भने ।प्रहरीका अनुसार केही दिन पहिले नेपाली एमालेबाट कांग्रेसमा प्रवेश गरेका थिए ।अहिले उक्त पीडितको रगताम्य भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल छ । दुवै जनालाई नियन्त्रणमा लिएको केहीबरपछि प्रहरीले छाडिदिएको जनाएको छ ।उनले भने, ‘‘यद्यपी दुबैमाथि प्रहरी अनुसन्धान भने जारी छ ।”