चैत – देशको विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर, चितवन, झापा, पर्सा र काभ्रेमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका–१३ सोल्टि दोबाटोमा बा १७ च ४९०३ नम्बरको भ्यानले प्र ३ ०२–०२८ प ७५२१ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा मोटरसाइकलमा सवार चन्द्रागिरि नगरपालिका–२ बस्ने ३० वर्षीय किसोर सुबेदी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुमा बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट पैदलयात्री दुई वर्षीय बालक आर्यन पुरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कृष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो ।चितवनको रत्ननगर नगरपालिका–१० स्थित सडकमा बागमती प्रदेश ०३–०२ प ३१४८ नम्बरको स्कुटर बुधबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–५ झुवानी बस्ने ४० वर्षीय मलाहा महतो रहेका छन् ।
झापाको दमक नगरपालिका–१० जहदा टोलमा ट्रयाक्टर बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा लेबर काम गर्ने सोही नगरपालिका–८ बस्ने २३ वर्षीय विकास ताजपुरिया रहेका छन् ।पर्साको संखुवाप्रसौनी गाउँपालिका–२ गुल्बरियामा प्रदेश नं।२–०३–००१ त ४०९४ नम्बरको ट्रयाक्टरको टेलरबाट खसेर बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने धनिलाल यादवको ५ वर्षीय छोरा रितेश कुमार यादव रहेका छन् ।
काभ्रेको रोशी गाउँपालिका–९ चिउरीबासमा प्रदेश ३–०२–००१ प ३६४८ नम्बरको मोटरसाइकल बा ४ ख ५८०१ नम्बरको बसमा ठोक्किदा बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक म्याग्दी बेनी नगरपालिका–२ बस्ने २४ वर्षीय सरोज कुवँर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
धादिङमा बस दुर्घटना, १५ जना घाइते, धादिङको थाक्रे गाउँपालिका-७ जुंगेखोलामा आज यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। काठमाडौंबाट धादिङबेसीतर्फ आउँदै गरेको बा४ख ७४ नम्बरको ग्रामीण यातायातको बस सडकमा पल्टिएको प्रहरीले जनाएको छ।घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। सामान्य घाइतेहरूलाई शिवदर्शन अस्पताल धार्केमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए। गम्भीर घाइते भएकालाई प्राथमिक उपचारपछि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको छ।