बैतडी – बैतडी सदरमुकाममा खानेपानीको हाहाकार भएको छ । दुई हप्तायता यहाँका धाराहरुमा खानेपानी आउने छाडेपछि व्यापारी तथा स्थानीयबासी मारमा परेका छन् ।सदरमुकामस्थित बृहत खानेपानी आयोजनामा समस्या आएपछि खानेपानीको हाहाकार भएको गोठलापानीका स्थानीय व्यापारी खिमानन्द भट्टले बताए ।उनले भने, ‘पहिला मासिक तीन सय रुपैयाँ तिरेपछि एक महिना पानी खान पाइन्थ्यो । अहिले ट्यांकरमा पानी ल्याउनुपर्दा मासिक चार हजार खर्च हुँदै छ । १८ करोड रकम खर्च गरेर बृहत खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो ।
उक्त आयोजनाको पानी खान नपाए पनि शुल्क भने हरेक महिना तिर्नुपर्छ । पानी सुचारु गर्ने विषयमा सरोकारवाला मौन छन् ।धारामा खानेपानी आउन छाडेपछि दैनिक ट्यांकरबाट पानी मगाउनु परेको अर्का व्यापारी यज्ञराज बोकटीले बताए । उनले भने, ‘निर्वाचन नजिक आएकाले बजारमा मानिसको भीड बढेको छ ।राजनीतिक दलका नेता, कार्यकर्तादेखि म्यादी प्रहरी तथा कृषि गणनाका प्रशिक्षार्थीहरू आएकाले बजारमा भीडभाड बढेको छ । पानीको अभावपुर्ति गर्न निकै समस्या छ ।’
सदरमुकाममा पानीको समस्या हुँदा सार्वजनिक शौचालयसमेत बन्द रहेकाले बजारमै खुला दिसा पिसाव गर्ने गरेको स्थानीय सुरेश बहादुर चन्दले बताए ।नगर खानेपानी उपभोक्ता समितिका अध्यक्ष धर्मानन्द भट्टले भने, ‘हामी खानेपानी बनाउन लागिपरेका छौँ । खानेपानीको मुहानमै पानीको मात्रा घटेको देखिन्छ ।सबै उपभाेक्तालाई कसरी पर्याप्त खानेपानी पुर्याउन सकिन्छ, त्यसको पहलमा छु । म अध्यक्ष बनेको एक महिना मात्र पुग्दै छ । म सबै उपभोक्तालाई पानी पुर्याउन प्रतिवद्ध छु ।’