भरतपुर – पछिल्लो समय कुमरोज मध्यवर्ती सामुदायिक वनमा चितुवा र बाघको गतिविधि देखिन थालेको छ। केही दिनअघि पनि यही सामुदायिक वनमा पाटेबाघले मान्छे खाएको थियो। सामाजिक अभियन्ता एवम् खैरहनीका स्थानीय मुरलीप्रसाद गजुरेलले आइतबार एकै दिन चितुवा र पाटेबाघ नजिकनजिकमै देखिएको बताए।‘दराई–बोटे तालबाट सौराहा जाने जीप सफारी रहेको ठाउँको करिब आधा किलोमिटर वरिपरि हामीले रूखमा बसिरहेको अवस्थामा चितुवा देख्यौँ, भुईँमा हिँडिरहेको अवस्थामा पाटेबाघ देख्यौँ,’ उनले भने, ‘यसले पर्यटकको आकर्षण बढाए पनि स्थानीयमा डरसमेत बढाएको छ।’ आइतबार साँझ करिब ५ः३० बजेतिर बाघ देखिएको उनले बताए।
सामुदायिक वनका कर्मचारी दीपक भण्डारीले पनि बाघको गतिविधि पहिलेदेखि नै बढी हुने भए पनि पछिल्लो समय अझै बढेको जानकारी गराए। ‘पछिल्लो दिन प्रायःजसो बाघ, चितुवा आदि देखिन थालेका छन्,’ उनले भने, ‘यसरी दिउँसै बाघ र चितुवा देखिनु भनेको सामुदायिक वनमा अलि बढी डर पैदा हुनु हो।’ चालू आर्थिक वर्षमा मात्रै कुमरोज मध्यवर्ती सामुदायिक वनमा तीन जना मान्छे बाघको शिकार भइसकेको उनले बताए।
‘सामुदायिक वन भएकोले वरिपरिका स्थानीयलाई घाँस–दाउरा गर्न जानैपर्ने बाध्यता पनि छ,’ उनले भने, ‘तर, वनले सकभर जोखिमयुक्त स्थानमा नजान सचेत गराइरहेको छ।’ सामुदायिक वन भएकोले सबैलाई रोक्न पनि नसकिने उनको भनाइ छ। तर, जानै परे पनि सकभर धेरै जनाको संख्यामा जान वन कार्यालयले सुझाव दिँदै आएको उनले बताए।
बाघको लागि पर्याप्त आहार भएको हुँदा दैनिकजसो बाघ देखिन थालेको उनको अनुमान छ। ‘हत्तपत्त बाघ देखिँदैन, तर शिकार गर्ने बेलामा र एक ठाउँबाट अर्को ठाउँ जाने बेलामा मात्रै देखिन्छ,’ भण्डारीले भने, ‘दराई–बोटे ताल आसपासमा बाघको आहारा बढी छ। त्यसैले आहाराको लागि बाघ निस्किएको पनि हुन सक्छ।’दिउँसोभन्दा साँझ–बिहानको समयमा बढी देखिने गरेको छ। यो सामुदायिक वन ६९४ हेक्टर क्षेत्रफलमा फैलिएको छ। ‘केही समयअघि चितवन राष्ट्रिय निकुञ्जले बाघको अनुगमन गर्दा यही ६९४ हेक्टरभित्र मात्रै सातवटा बाघ देखेको भन्ने सुनेको थिएँ,’ उनले भने, ‘कुमरोजमा बाघ, चितुवाको संख्या बढी नै रहेको अनुमान गर्न सकिन्छ।’
#कुमरोज मध्यवर्ती सामुदायिक वनको दराई-बोटे ताल क्षेत्रमा देखिएको चितुवा । (तस्बिर स्रोत : प्रेम रिमाल)