भरतपुर – नेपाली कांग्रेस र माओवादी केन्द्रले निकै चर्चामा रहेको भरतपुर महानगरपालिकाको मेयर र उप–मेयरमा मनोनयन दर्ता गराएका छन् ।सोमबार निर्वाचन कार्यालयमा पुगेर माओवादीबाट रेणु दाहालले मेयरमा मनोनयन दर्ता गराएकी हुन् । उप–मेयरमा कांग्रेसको तर्फबाट चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन् ।कांग्रेस नेतृत्वको गठबन्धनले भरतपुरमा कब्जा गर्ने तयारी गरेको छ । माओवादीले मेयर मात्रै लिएको छ । कांग्रेसले उप–मेयर र सबै वडाध्यक्षहरूमा उम्मेदवारी दिएको छ ।
सोमबारदेखि भरतपुर महानगरमा मेयरकी उम्मेदवार रेणु र उप–मेयरका उम्मेदवार अधिकारीको पक्षमा देखिएको नेताहरूको भनाइ छ ।यसैबीच, चितवन कांग्रेसका सभापति राजेश्वर खनालले बागी उम्मेदवारलाई कारबाही हुने चेतावनी दिएका छन् ।उनले उम्मेदवारी दर्ता गराउने नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिए पार्टीले कारबाही गर्ने बताएका छन् ।उनले असन्तुष्ट समूहलाई कांग्रेस केन्द्रीय परिपत्रअनुसार उम्मेदवारी फिर्ता लिने समय अवधिसम्म फिर्ता नभए कारबाही हुने बताए ।
रेणु दाहालले जनअभिमतबाट पनि प्रतिगमनलाई पराजित गरिने बताएकी छिन् ।उनले भनिन्, ‘हामीले आन्दोलनमार्फत प्रतिगमनलाई पराजित गरेका थियौँ । अब जनअभिमतबाट पनि पराजित गर्छौं ।’‘आम जननताको साथ र विश्वास मेरो जित्ने आधार हो’, उनले भनेकी छिन् ।कांग्रेसको बागी उम्मेदवारबाट आफूलाई कुनै असर नपर्ने दाबी रेणुको छ । ‘दोस्रो पटक उम्मेदवारी दर्ता गर्दा म निकै खुसी छु’, उनले भनेकी छिन्, ‘मेरो जित सुनिश्चित छ ।’रेणु अघिल्लो पटक पनि कांग्रेसकै समर्थनमा भरतपुरको मेयरमा विजयी भएकी थिइन् ।यसपटक उनको मुख्य प्रतिस्पर्धा एमालेका विजय सुवेदीसँग हुँदैछ ।मनोनयन दर्ता गराउने क्रममा कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, माओवादी केन्द्रका नेता मधु न्यौपाने, नेता नारायण दाहाल पनि निर्वाचन कार्यालय पुगेका थिए ।