मानव जगतमा आमा जस्तो प्रिय लाग्ने चीज सायदै अरू कुनै होला ? हामीले अनुभव गरेकै हो कुरा हो, बाटोमा हिँड्दा हामीलाई केही सानो दुखाइ हुन गयो भने पनि त्यो दुखाइले आमाको सहयोग मागेको हुन्छ । कुनै नराम्रो घटना हाम्रो आँखाले देख्न पुग्यो भने पनि आमा भन्न त्यो दृश्यले बाध्य गराएकै हुन्छ । त्यसैगरी कुनै पनि असहज काम गर्नुपरेको बेलामा पनि आमालाई सम्झिएकै हुन्छाँै । त्यो सम्झाइले हामीलाई आफ्नो कार्यसम्पादनमा हौसला मिलेको हुन्छ । अबोध बालक रुँदा पनि आमालाई सम्झी सम्झी रोएको हुन्छ । यसरी हाम्रो जीवनमा आमाको महत्व अथाह भए पनि यदाकदा हामीले तदनुरूपको आचरण एवम् व्यवहार गरेका छैनौँ कि भन्नेतर्फ एकचोटि सोच्नै पर्दछ ।
आमा भन्ने शब्द मानवदेखि जनावरसम्मलाई उत्तिकै प्रिय लाग्ने शब्द हो । बालक जन्मिएपछि जब उसको तोते बोली फुट्छ, सर्वप्रथम उसले उच्चारण गर्ने शब्द आमा नै हो । हामीलाई अकस्मात कुनै आपत आइपर्यो भने पनि फुत्त मुखबाट निस्कने शब्द आमा नै हो । कुनै समस्या आइपरेको समयमा पनि लौन आमा के गर्ने भनी हामी आमालाई ठूलो ठूलो स्वरले चिच्याएकै हुन्छौं । कसैसँग कुनै झैझगडा भयो भने मेरी आमाले मलाई जन्माएकै हैन भनी ध्वांश दिने पनि गरेकै छौं । बालक कालमा कसैसँग झैझगडा हुँदा मेरी आमालाई ल्याउँछु भनेर ताकत पनि देखाएकै हुन्छौँ । यसरी हाम्रो दैनिक जीवनमा पनि आमालाई उच्च मान्यता दिइआएको पाइन्छ ।
आमा शब्द मानवसँग मात्र सम्बन्धित भएको हुँदैन । पशु तथा जनावरसँग पनि त्यत्तिकै सम्बन्ध रहेको हुन्छ । कुनै पशुले बच्चा जन्माएपछि केही समयको अन्तरालपछि नै आमालाई सङ्केत गरी बोलाएको हुन्छ । चराचुरुङ्गीले पनि बेला बेलामा च्याँ च्याँ गरी आमालाई नै बोलाएको हुन्छ । अन्य जीव जन्तुहरूले पनि आमालाई विभिन्न रूप र तरिकाबाट खोजेकै हुन्छन् । प्रथम सृष्टिकर्ता एवम् पहिले देखिन आउने वस्तु आमा भएको हुनाले यी दुईबीच प्रगाढ माया, ममता तथा स्नेह हुन गएको हो । आमा भन्ने शब्द यो संसारमा सबैका लागि उत्तिकै प्रिय हुन पुगेको छ ।
विश्व इतिहासलाई अध्ययन गर्ने हो भने पनि ठूला ठूला साहित्यकारहरूले पनि आमालाई मुख्य स्थान दिइआएको पाइन्छ । विश्वका चर्चित उपन्यासकार म्याक्सिम गोर्कीले पनि आफनो प्रसिद्ध उपन्यासको नाम नै ुआमा’ राख्न पुगे । केवल उनले नाम मात्र राखेनन् । मुख्य पात्र नै आमालाई बनाइदिए र आमाको भूमिका क्रान्तिकारी बनाई दिए । यसले कारखानामा काम गर्ने सबैले उनलाई आमा भनी सम्बोधन गर्न थाले । क्रान्तिको विगुल फुकेर सबै मजदुरहरूलाई एकजुट हुन आह्वान गर्ने काम पनि तिनै आमाबाट सुरु भएको थियो ।
त्यस्तै गरी विश्व साहित्यमा नोबेल पुरस्कार बिजेता पर्लस् एस बकले लेखेको गुड अर्थ भन्ने उपन्यासमा पनि अनिकाल र भोकमरीले आक्रान्त पारेको समयमा पनि बुढी आबोइले भविष्यको लागि बीउ लुकाएर जोगाइराखेको कथा निकै रोचक छ । पछि त्यही बीउले खेतीपाती गरेर भोकमरीबाट जोगिन पुगेको कुरा निकै मार्मिक छ ।
आमाको माया कति अगाढ हँुदो रहेछ भन्ने कुरा भनी साध्य नै छैन । स्थलचर, जलचर सबैमा उत्तिकै हुँदो रहेछ । एउटा बाँदर्नीले आफ्नो मरेको छाउरोलाई पिठ्युँमा बोकेर हिँडिरहेकी हुन्छे । यसरी समातिरहन उसलाई गाह्रो पर्न थाल्यो र आफ्नो पेटमा एक हातले च्यापेर अर्को हातले टेक्दै हिँडिरहेकी हुन्छे । मरेको शरीर गह्रँुगो हुने हुँदा उसले बोकेर हिँड्न नसकेर सडकको एकान्त कुनामा मृत बच्चालाई एकोहोरो हेर्दै आँखाभरी आँशु भएको दृश्य यदा कदा देख्न पाइन्छ । यसरी एउटा बाँदर्नीले त आफ्नो सन्तानप्रति यति ठूलो माया देखाउँछे भने हामी मानव प्राणीले देखाउनु त के ठूलो कुरो भयो र ?
अमाको माया कति र कस्तो हुन्छ भन्ने बारे माथिका केही प्रतिनिधिमूलक घटना मात्र हुन् । यस्ता अनगिन्ती घटना हाम्रो समाजमा भई नै रहेका छन् । हाम्रो धर्म, संस्कृति, शास्त्रमा पनि आमालाई महत्वपूर्ण स्थान दिइएको पाइन्छ । मातृ देवो भवस् पितृ देवो भवस् भन्ने प्रचलनले पनि आमालाई उच्च आदर एवम् सम्मान गर्नुपर्ने भाव झल्किएको छ । आजभोलिका कवि कवयत्रीका रचनाहरूमा पनि आमा बारेमा धेरै नै रचना भएका छन् । यी सबै सर्जकहरूलाई आमाप्रतिको प्रेम भएको कारणले नै होला ।
आमालाई घृणा गरेर वृद्धाश्रममा बेवारिसे अवस्थामा छोडेका र लाउन खान नदिएर विचल्लीमा पारेका घटना पनि नदेखिएका होइनन् । यद्यपि सबै मानिसको भावना, विचार तथा व्यवहार एउटै हुँदैन । जेहोस् आमाले जति आफ्ना सन्तानलाई माया गर्छिन् सन्तानले निश्चय नै त्यति गरेका हुँदैनन् ।
नेपालको सन्दर्भमा भन्ने हो भने आमालाई आदर गर्ने चलन परापूर्व कालदेखि नै चलिआएको पाइन्छ । घरबाट टाढा जाँदा वा बाहिरबाट घर आउँदा आमालाई ढोग गरी आशीर्वाद लिने प्रचलन हामीहरूले मानी आएकै छौँ । यो प्रचलनले एकातिर आमा छोरामा आगाध माया ममता बस्न जान्छ भने व्यक्तिको आचरणमा पनि सुधार भएको हुन्छ । यसरी हाम्रो पूर्वीय दर्शनमा आमालाई उच्च स्थानमा राखी आएका नै छ ।
पहिले बाल्यकालमा आमाले दुःख कष्ट एवम् विभिन्न हण्डर खाएर आफ्ना सन्तानलाई हुर्काएकी हुन्छिन् । पछि आमा वृद्ध भएको अवस्थामा छोराछोरीले पनि आमाले जस्तै माया तथा प्रेम गरून् भन्ने नै हाम्रो हिन्दु धर्मको मुख्य मर्म रहेको पाइन्छ । त्यसैले हाम्रा धर्मशास्त्रमा पनि आमा बाबुको कर्तव्य र छोराछोरीले गर्नुपर्ने आचरणबारे उल्लेख भएको पाइन्छ । पश्चिमी संस्कारमा अशक्त आमा बाबुलाई घरमा राख्दा त्यति स्याहार सुधार नपुग्नेदेखि स्याहार सुसार केन्द्रमा लग्ने प्रचलन बढ्दै गएको छ भने नेपालमा भने सकभर आफ्नै घरमा राखेर हेरचाह गरिन्छ । बाध्यात्मक अवस्थामा मात्र आश्रममा लगिने गरिन्छ । यसरी नेपालमा मात्र हैन, अन्य देशहरूमा पनि आमालाई विशेष स्थान दिई आदर गरेको पाइन्छ ।