स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरु मतदाताको घरघरमा पुगेर भोट मागिरहेका छन् ।आफ्ना दलका नेता कार्यकर्तासहित मतदाताको घरघरमा पुगेका उम्मेदवारहरुको भोट माग्ने शैली पनि फरक फरक छ ।सामाजिक सञ्जालमा फोटो भिडियो हाल्नका लागि भएपनि उम्मेदवारहरुले फरक फरक तरिकाले भोट मागिरहेको दृष्य देख्न सकिन्छ । हृदयेश त्रिपाठी केन्द्रिय संयोजक रहेको जनता प्रगतिशिल पार्टीका प्रतापपुर गाउँपालिकाका अध्यक्षका उम्मेदवार करम हुसेन अन्सारीले मतदातालाई लड्डु खुवाउँदै आइतबार भोट माग्दै थिए । मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा उनले यसरी भोट माग्दै हिँडेको दृष्य रोचक थियो ।
जनता समाजवादी पार्टी नेपालका तर्फबाट सुस्ता गाउँपालिकाका अध्यक्षका उम्मेदवार लख्खु यादवले आफूभन्दा अग्रज मतदातालाई ढोग गर्दै आर्शिवादसहित भोट मागिरहेका छन् । गाउँघरमा चिनेजानेका आफन्तीलाई ढोग गर्दै आशिर्वाद थाप्दै गरेका उनी सानादेखि अग्रज सबैलाई समान व्यवहार गर्ने भएकाले यसो गरेको बताउँछन् ।नेपाली कांग्रेसको तर्फबाट पाल्हिनन्दन गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार बनेकी २४ वर्षीय सकिना फतिमा खातुनले सबैको ध्यान तानेकी छन् ।
उनी आफ्नो पार्टीको प्रचारप्रसारमा महिला मतदाता देख्ने बित्तिकै अंगालो हालेर कुरा गर्ने र भोट माग्ने गर्छिन् भने पुरुष मतदातालाई नमस्कार गरेर आर्शिवाद लिने गरेकी छन् ।स्थानीय तहमा आफ्ना योजना र विकासका नारा भन्दा पनि नातागोता लगाउने, ढोग गर्ने तथा विभिन्न आश्वासन बाँडेर भोट मागिरहेका उम्मेदवार भेटिन्छन् ।जिल्लामा ३ सय ८४ पदका लागि २ हजार १ सय ९ जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी रुद्रप्रसाद रेग्मीले बताए ।