प्रदेशसभा सदस्यहरुका लागि अर्टिफिशल ईन्टलिजन्स अर्थात (ए.आइ)को प्रयोग, डिजीटल सुरक्षा र सामाजिक संजाल व्यवस्थापनबारे कार्यशाला भालुवाङमा सम्पन्न भएको छ । कार्यशालामा एआइको प्रयोग के के मा कसरी गर्ने भन्नेबारे सिकाइएको थियो ।
एआइबाट सुचना कसरी लिने, भाषणको तयारी कसरी गर्ने, सत्य र तथ्य कसरी पत्ता लगाउने, तिनको उपयोग कसरी गर्नेभन्नेबारेमा अभ्यास भएको थियो । यस्तै एआइ तस्बिर र भिडियो कसरी लिने, तिनको कसरी प्रयोग गर्ने, कस्ता विषय प्रयोग गर्न सकिन्छ र कस्ता विषय प्रयोग गर्न सकिदैन भन्नेबारेमा सिकाइएको थियो ।
युएनडिपीको संसद सहयोग परियोजनाको सहकार्यमा संचारिका समूह लुम्बिनीले कार्यशालाको योजना गरेको हो । कार्यशालामा एआइ इन्जीनियर सुप्रिया खड्काले सहजीकरण गर्नुभएको थियो ।
सामाजिक संजाल व्यवस्थापन र डिजीटल सुरक्षाबारे उषाकिरण पन्थ र रिया बस्नेतले सहजीकरण गरेका थिए । कार्यक्रम लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनका खाणँ केसीको अध्यक्षता र संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलको एआइको प्रयोग र सामाजिक संजाल व्यवस्थापनले सामाजिक एवं राजीनितिक व्यक्तित्वमा पार्ने प्रभावबारे बताउनु भएको थियो ।