पशुपति धर्मशालामा होटल सन्चालन गरेको बतास समूहले सरकारी टोलीलाई गेटमै रोकेको छ ।सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएपछि सरकारी टोली गेट बाहिरै रोकिएका छन् । सरकारी प्रतिनिधिसहितको टोली शुक्रबार होटलमा ताला लगाउन आएको भन्दै बतास समूहले गेटमै रोकेको बताइएको छ ।गेटभित्र प्रवेश गर्न खोज्ने र रोक्ने दुवै पक्षबिच गेटमा केहीबेर भनाभन भएको छ । बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरेका थिए । पर्यटनमन्त्री प्रेम आलेको निर्देशनका गएका सरकारी प्रतिनिधिलाई धर्मशाला सञ्चालक पक्षले ‘अदालतको आदेश लिएर आउनू’ भन्दै भित्र प्रवेश गर्न दिएन ।तर सरकारी प्रतिनिधिहरुले भने आफूहरुले आफ्नो सम्पत्ति हेर्न पनि नपाउने भन्दै गेट खोल्न आग्रह गरेका थिए ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, स्थानीय जनप्रतिनिधिको रोहबरमा सरकारी टोली धर्मशाला पस्न खोज्दा स्थानीय जनप्रतिनिधि समेतले सहयोग नगरेको पाइएको छ। मुचुल्कामा सही गर्न नआएपछि उनीहरु फर्किएका थिए । आज पनि जनप्रतिनिधि खोज्दा कोही पनि सम्पर्कमा आउन नचाहेको कोषका एक पदाधिकारीले बताए ।संघीय सांसद पनि कांग्रेसकै गगनकुमार थापा छन् भने प्रदेश सांसद कांग्रेसका नरोत्तम वैद्य छन् । तर सत्तापक्षकै जनप्रतिनिधिले सहयोग नगरेको पर्यटनमन्त्री आलेको सचिवालयले जनाएको छ ।
सम्झौता अनुसार काम नभएको भन्दै कोषले चैत १७ गते बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रा.ली.सँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन । त्यसपछि गत सोमबार पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो । सूचनामा धर्मशालामा रहेका सरसामान हटाउन भनिएको छ । तर भवन खाली गरिएको छैन ।-जन संचार