काठमाडौँ- चन्द्रागिरि नगरपालिकाको एक वडाले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता उल्लंघन गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ ले आचारसंहिता उल्लंघन गर्दै शनिबार महिलाहरूलाई साडी बाँड्न लागेको हो । शुक्रबार वडाध्यक्ष सन्तोष खड्काले हस्ताक्षर गरेको एक सूचनामा महिलाहरूलाई शनिबार दिउँसो २ बजे साडी बाँड्न लागेको उल्लेख गरिएको छ । वडा कार्यालयमा साडी पाऊँ भनी आवेदन दिनुभएका दिदी बहिनीहरूले तपसिलको मिति, समय र स्थानमा साडी बाँड्ने कार्यक्रम रहेकोले वडा कार्यालयमा आई साडी बुझिलिनु हुन अनुरोध छ,’ वडाध्यक्ष खड्काले जारी गरेको सूचनामा उल्लेख छ । यसबारे वडा सदस्य सविना राउतले साडी बाँड्ने कार्यक्रम राखिएको पुष्टि गरेकी छन् ।
‘प्रत्येक आमा समूहको दिदी बहिनीहरूलाई आज बाँड्दैछन् । समूहमा म पनि छु तर म चाहि जाँदिनँ,’ उनले भनिन्, ‘हाम्रो २८ वटा समूह छ । त्यहाँ भएका महिला दिदी बहिनीहरूले पाउने हुन् । ७ सय बढी महिलाहरूले पाउँदै हुनुहुन्छ ।’वितरण गर्न दुई सय बढी साडी एक महिनाअघि नै ल्याएको उनले बताइन्। बाँकी साडी भने पछि मात्रै ल्याएको उनले बताइन् । प्रत्येक साडी एक हजार २५० रुपैयाँका दरले किनेको उनले बताएकी छन् । वडाले नै समूहका प्रत्येक महिलालाई दिने भनेर कुरा राखेका थियौं ।’ उनका अनुसार वडाध्यक्ष खड्का यसपालि पनि वडाध्यक्षका दाबेदार हुन् । उनी २०७४ सालमा एमालेबाट निर्वाचित भएका थिए । यस्तै, यो कार्यक्रमले निर्वाचन आचारसंहिता, २०७८ ले उल्लंघन गर्ने निर्वाचन आयोगका सहसचिव यज्ञ भट्टराईले जानकारी दिए । यो कुरा हाम्रो नोटिसमा आइसकेको छ । यसले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको छ,’ भट्टराईले भने, ‘हामी त्यसलाई तत्काल रोक्न भन्छौं ।’