घोराही – दाङको घोराही उप–महानगरपालिकामा मनोनयन दर्ता गर्ने क्रममा एमालेले बालबालिकालाई प्रयोग गरेको छ ।घोराहीमा एमालेका तर्फबाट मेयरमा नरुलाल चौधरी र उप–मेयरमा हुमा डिसीले मनोनयन दर्ता गर्न जाने क्रममा बालबालिकालाई पार्टीको झण्डा र चुनाव चिन्ह बोकाएका हुन् ।बालबालिकाले एमालेको झण्डा र चुनाव चिन्ह बोकेर हिँडेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।एमालेले घोराहीमा बालबालिकामाथि गरेको हर्कतको स्थानीय राजनीतिक दलका नेताहरूले विरोध गरेका छन् । उनीहरूले एमालेलाई कारबाही गर्न निर्वाचन आयोगसँग माग पनि गरेका छन् ।निर्वाचन आचारसंहिता विपरित एमालेले घोराहीमा बालबालिकालाई प्रयोग गरेको भनेर आलोचना भएको छ ।घोराहीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका छन् ।
यो पनि पढ्नुहोस -कञ्चनरुप । एमालेले सप्तरीको कञ्चनरुप नगरपालिकाको उप–मेयर पदमा कीर्ते गरेको खुलासा भएको छ ।एमालेको तर्फबाट असरादेवी चौधरीले उप–मेयरको पदमा मनोनयन दर्ता गराएकी थिइन् ।निर्वाचनका कर्मचारीहरूले रातारात चौधरीको फाइल हटाएर अर्कैको नाम बाहिर ल्याएको स्थानीय दलहरूले आरोप लगाएका छन् ।चौधरीको उम्मेदवारी समानुपातिक सूचीमा रहेको थियो । एमालेका नेताको दवावमा निर्वाचन अधिकृत हिमालय बरालले मध्यराति उम्मेदवार परिवर्तन गरेको आरोप छ ।
उप–मेयरमा नेपाली कांग्रेसकी मुना पोखरेल, माओवादी केन्द्रका बन्सी चौधरी, जनमत पार्टीकी सम्झना राणा, जसपाकी कल्पना चौधरी, नेकपा (एकीकृत समाजवादी)की होमकुमारी पोखरेलले मध्यरातमा भएको गतिविधि खारेज गर्न माग गरेका छन् ।उनीहरूले निर्वाचन अधिकृत बराललाई निवेदन दिएर सो कीर्ते नगर्न चेतावनी दिएका छन् ।मध्यरातमा फाइल नै परिवर्तन गराई एमालेले कल्पना चौधरीको नाम उप–मेयरको उम्मेदवारको सूचीमा सार्वजनिक गरेको आरोप छ ।निर्वाचन कार्यालयबाट भएको उक्त कार्यले निष्पक्ष निर्वाचन हुने कुरामा प्रश्नचिन्ह खडान भएको उनीहरूले निवेदनमा बताएका छन् ।
निवेदनमा निर्वाचन कार्यालयबाट भइरहेको यस्ता किसिमका गतिविधि अविलम्ब रोक्न, मध्यरातमा दाखिला गरिएको उम्मेदवारी खारेज गर्न, दोषीलाई कारबाही गर्न माग गरिएको छ ।मागको सुनुवाइ नभए निर्वाचन कार्यालयमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रने चेतावनी उनीहरूले दिएका छन् ।