साउदीमा हराएका एक जना नेपालीलाई भेटाएमा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।अप्रिल १९ तारिखकाे रातिदेखि रियादको बथा भन्ने ठाउँबाट साह हराइरहेको हुँदा भेटाउनेलाई दूतावासमा खबर गरिदिन आग्रह गरेको हो ।साह डिप्रेसनको सिकार भएको र कसैसँग पनि नबोल्ने गरेको दूतावासले जनाएको छ । उहाँलाई उद्धार गरेर दूतावासको शेल्टरमा राखि घर पठाउने तयारी भइरहेको बेला उहाँ हराउनुभएको हो । राति शेल्टरमा सबै सुतिरहेको समयमा उहाँ भागेको हुनसक्ने दूतावासको भनाइ छ ।
दूतावासका अनुसार उहाँको एक्जिट भिसा पनि आइसकेको छ । उहाँलाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा दूतावासको फोन नम्बर ०५०००७६७९४ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।उहाँको नेपालमा घर कुन ठाउँमा हो भन्ने कुरा भने दूतावासले खुलाएको छैन ।
यो पनि पढ्नुहोस -कोभिड संक्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा मेनपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो ।
वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड संक्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र आउने क्रम बढेसँगै इजाजतवाला (मेनपावर कम्पनी) ले ९ महिनामा २ लाख ३१ हजार श्रमिक विदेश पठाएको जानकारी दिए ।
गत वर्ष यो संख्या ३७ हजार ४०६ मात्र थियो । गत वर्ष साउन र भदौमा कुनै पनि मेनपावरले युवा विदेश पठाउन पाएका थिएनन् । गत वर्ष खाडी तथा मलेसियाको विकल्पमा नयाँ श्रम गन्तव्यको खोजी गर्न नसक्दा २५१ मेनपावरको कारोबार नै शून्य भएको थियो । कोरोना संक्रमणका कारण खुम्चिएको श्रम गन्तव्यको विस्तार गर्न नसक्दा विदेश जाने मात्र नभई मेनपावरमा कार्यरत हजारौ कर्मचारीले समेत रोजगारी गुमाएका थिए ।
गत वर्ष कोरोना संकटका कारण वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरिरहेका ८ सय ५४ मेनपावर कम्पनीमध्ये २ सय ५१ कम्पनीले एक जना पनि श्रमिक विदेश पठाउन सकेनन् । कोरोना संक्रमणका कारण श्रम गन्तव्यबाट नेपाली श्रमिकको माग नआएपछि सानो लगानीमा सञ्चालनमा रहेका मेनपावर कम्पनी संकटमा परेका छन् । व्यवसाय सञ्चालन गर्न २ करोड धरौटी राखेर इजाजतपत्र लिएको भए पनि श्रम गन्तव्यले माग नपठाउँदा २ सय ५१ कम्पनीको कारोबार नै शून्य भएको थियो ।
गत वर्षसम्म इजाजतपत्र लिएका ८५४ मेनपावर मध्ये एक वर्षमा १ देखि ९ जना श्रमिक विदेश पठाउनेको मेनपावरको संख्या १४१ रहेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । विभागको गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक श्रम स्वीकृति विवरण अनुसार हाल सञ्चालनमा रहेका ८ सय ५४ म्यानपावर कम्पनी मध्ये १० देखि ३० जना श्रमिक पठाउने मेनपावरको संख्या १२९ रहेको छ ।
चालू आवको ९ महिनामा सबैभन्दा बढी प्याराडाइज मेनपावरले ४ हजार ६८९ जना श्रमिक विदेश पठाएको पाइएको छ । त्यस्तै एसओएस म्यानपावर सर्भिसले ४ हजार ३२३ जना विदेश पठाएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसरी नै ९ महिनाको अवधिमा अक्सफोर्ड इन्टरनेसनल मेनपावरले ३ हजार ३२० युवा विदेश पठाएर तेस्रो स्थानमा रहेको छ ।
अघिल्लो वर्ष २५ मेनपावर कम्पनीले १ जना, १५ मेनपावरले २ जना, १७ मेनपावरले ३ जना १६ मेनपावर कम्पनीले ४ जना मात्रै श्रमिक विदेश पठाएका थिए । ४ सय १७ कम्पनीले १ सय भन्दा कम संख्यामा श्रमिक विदेश पठाउन सकेको तथ्यांक रहेको छ । गत वर्ष ११ कम्पनीले मात्र ५ सय भन्दा बढी संख्यामा श्रमिक विदेश पठाउन सकेका थिए ।त्यस्तै ४ सय २० कम्पनीले ५ सय भन्दा कम संख्यामा मात्र श्रमिक विदेश पठाउन सकेको विभागको तथ्यांकले देखाएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरुङले कोभिड संकटका कारण श्रम गन्तव्यबाट जति माग आउनु पर्ने हो सो अनुसार आझै पनि नआएको जानकारी दिए ।