पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ स्थित कौवा वनका ४० वर्षीय जुलन माझीलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे केही जानकारी छैन ।दैनिक मजदुरीमा व्यस्त रहने माझीलाई आइतबार पनि कामले फुर्सद छैन । उहाँ आइतबार पनि पाल्पाको रामपुरमा सडक निर्माणका काममा बिहानैदेखि खटिसक्नुभएको छ ।दश वर्षको उमेरदेखि सडक, भवन तथा पुल, पुलेसा, सामान ओसारपसारजस्ता विभिन्न क्षेत्रमा मजदुरी गर्दै आउनुभएको छ । यसरी नै उहाँले करिब तीन दशक बिताउनुभयो । श्रमिक दिवसको दिन पनि उहाँले आराम गर्ने समय पाउनुभएको छैन । उहाँ भन्नुहुन्छ, “श्रमिक दिवस भनेको के हो ? हामीलाई त काम नै ठूलो छ, काम गरिएन भने घरमा चुल्हो बल्दैन, अहिलेसम्म श्रमिक दिवसको दिन ठेकेदार, साहुले बिदा दिएको पनि पत्तो छैन, आफ्नै काममा दैनिकी बितिरहेको छ ।”
उहाँ मजदुरी गरेवापत दैनिक रु ६०० ज्याला बुझ्नुहुन्छ । त्यसैबाट चार छोराछोरी र श्रीमतीको पालनपोषण गर्नुपर्ने बाध्यता छ ।सोही ठाउँकै २५ वर्षीय राजु माझी मजदुरीमै व्यस्त हुनुहुन्छ । बिहानदेखि साँझसम्म सडक कालोपत्र गर्ने काममा खट्नुहुन्छ । आइतबार परेको मजदुर दिवसबारे आफू पनि बेखबर रहेको उहाँले बताउनुभयो ।“श्रम नगरी खान पुग्दैन, अर्काले कमाएर देला भन्ने आश छैन, घरमा छोराछोरी, श्रीमती पाल्नै प¥यो, आफ्नो दुःख आफैसँग छ, हामीलाई दैनिक काम गर्ने अवसर पाए भयो, भरसक आफ्नै गाउँ–ठाउँमा काम पाएमा परिवारका साथ बस्न पाइन्थ्यो”, उहाँले भन्नुभयो ।
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाटका ३० वर्षीय टीकाराम पुनलाई घरको गारो लगाउन भ्याइनभ्याई छ । मे १ तारिख अर्थात् आज मनाइने श्रमिक दिवसबारे उहाँलाई जानकारी भए पनि यस दिवसले आफूहरूको जीवनस्तरमा कुनै फरक ल्याउन नसकेको उहाँ बताउनुहुन्छ ।यसैले आज पनि काममै ब्यस्त हुनुहुन्छ उहाँ । उहाँ यस अनौपचारिक क्षेत्रमा गएको पाँच वर्षदेखि श्रम गर्दै आउनुभएको छ । उहाँको दैनिक ज्याला रु ७५० छ ।
उहाँ भन्नुहुन्छ, “एक दिन काम छाडियो भने रु ७५० गुम्छ, ठेकेदारले घण्टा गन्ती गरेरमात्रै ज्याला दिन्छन्, श्रमिक दिवस भनेर कहिल्यै छुट दिँदैनन्, एक दिन रमाएर के गर्नु, पेट पाल्नै प-यो ।”श्रमिक दिवस मनाइरहँदा समयानुसार श्रमिकको पारिश्रमिक वृद्धि, गाउँघरमा नै रोजगारी, विदेशिएकालाई स्वदेशमै बस्ने वातावरण मिलाइदिन सरकारसँग उहाँको अनुरोध छ ।रामपुर नगरपालिका–७ बहखोलाका बस्ने ४२ वर्षीय नेत्रबहादुर रानाले छ वर्षदेखि मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनुभएको छ ।
दैनिक आठ घण्टा खटेर काम गरेवापत रु ७५० ज्याला पाउनुहुन्छ । रामपुर क्षेत्रमा हाल छवटा घर बनाउने जिम्मेवारी लिनुभएका रानालाई कामको व्यस्तताले श्रमिक दिवस मनाउने फुर्सद नै छैन ।सरकारले श्रमिक मजदुरको हकहितका लागि काम गर्छौँ भने पनि अहिलेसम्म उपलब्धि केही नदेखिएकामा उहाँ गुनासो गर्नुहुन्छ । चुनाव आएसँगै नेता, कार्यकर्ताले उहाँलाई धेरै आश्वासन पनि देखाए । तर निर्वाचन सकिएपछि भने नेता दैलोमा फर्केर नआउने प्रवृत्ति रहेकाले मजदुरका समस्या सम्बन्धित निकायमा पुग्न नसकेको उहाँ बताउनुहुन्छ ।
“हामीजस्ता तल्ला स्तरका श्रम गरेर जीवन धान्नेका लागि नेताले गर्ने केही होइन, सधैँ झुट्टा आश्वासनमात्रै दिन्छन्, हाम्रो माग भनेको बजारमा हरेक सामानको महङ्गी बढिरहेको छ, सोअनुसार पारिश्रमिक वृद्धि हुनुप¥यो, निरन्तर काम पाए भयो”, उहाँले भन्नुभयो ।-news24nepal