काठमाडौंको स्वयम्भूमा हत्या गरी फरार आरोपित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुली दुधौली नगरपालिका-१ डकाहा बस्ने २६ वर्षीय प्रकाश तिमिल्सिना र फिक्कल गाउँपालिका-१ घर भई काठमाडौंको बनस्थली बस्ने २९ वर्षीय राजेश सुनुवार पक्राउ परेका हुन्। उनीहरूमाथि ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभू घर भएका २८ वर्षीय नरेशकुमार गौतमको हत्या गरेको आरोप छ। वैशाख २ गते बिहान गौतमको शव काठमाडौं महानगरपालिका-१५ भगवान पाउस्थित सडक किनारामा फेला परेको थियो।
उनको शव अनुहारमा चोट भएको अवस्थामा फेला परेको थियो। त्यसमा अनुसन्धान गर्दा प्रकाश तिमिल्सिनासहित दुई जनाले नरेशमाथि कुटपिट गरी हत्या गरेको खुलेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले प्रकाशलाई आइतबार गोरखाको चुमनुब्री गाउँपालिका-३ जगतबाट पक्राउ गरेको हो।गत बुधबार प्रहरी वृत्त स्वयम्भूले सिन्धुलीका राजेश सुनुवारलाई बनस्थलीबाट पक्राउ गरेको हो। प्रकाशले लगाएको चाँदीको सिक्री हराउँदा हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
‘प्रकाशले लगाएको चाँदीको सिक्री हराएको थियो। हराएको सिक्री मृतक नरेशकुमारले चोरेको भन्दै दुबैजनाले मिलेर कुटपिट गरेर हत्या गरेको खुलेको छ,’ उनले भने।उनीहरूले अघिल्लो रात नै लागु औषध समेत सेवन गरेको प्रहरीको भनाई छ। कर्तव्य ज्यान मुद्दामा प्रहरी वृत्त स्वयम्भूले थप अनुसन्धान अघि बढाएको छ।