बैशाख २३-विश्व स्वास्थ्य संगठनले भारतमा करिब ४७ लाख बराबरले कोरोना बाट ज्यान लिएको बताएका छन् । यो भारतको सरकारी तथ्यांकभन्दा करिब १० गुणा बढी हो । कोरोना भाइरसको महामारीका कारण देशभर ४ लाख ८१ हजार जनाको ज्यान गएको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख रहेपनि संगठनले भने ४७ लाखको ज्यान गएको जनाएको छ ।यसअनुसार कोरोनाकै कारण कारण मृत्यु नभएका तर यसका कारण उत्पन्न अन्य समस्याका कारण ज्यान गुमाएकाको संख्या पनि जोडिएको छ । यस्तो संख्यामा कोरोनाका कारण अन्य रोगको उपचार गर्न नपाएर ज्यान गुमाएका लगायतका कारणहरू पर्छन् ।
तर कपितय अवस्थामा तथ्यांक संकलन तथा महामारीको सुरुवातमा परीक्षणमा देखिएको समस्यासमेत उजागर भएको छ । विश्व स्वास्थ्य संगठनले भने विश्वका देशहरूले जनाएको भन्दा थप करिब ९५ लाख जनाको मृत्युका घटना कोरोनाको प्रत्यक्ष असरसँग सम्बन्धित भएको दाबी गरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक विभागकी समिरा आस्माले पछिल्लो तथ्यांक ‘निकै दुःखद’ भएको बताएकी छन् । ‘यदि हामीले मृतहरूको संख्या गणना गरेनौं भने हामीले आगामी दिनमा राम्रो तयारी गर्न सक्ने अवसर गुमाउँछौं,’ उनले भनिन् ।
धेरै देशले कोरोनाका कारण ज्यान गुमाउनेहरूको संख्या निकै कम गणना गरेका संगठनको भनाइ छ । संगठनका अनुसार कोरोनाका कारण विश्वभर करिब १ करोड ५० लाख मानिसको ज्यान गएको अनुमानित विवरण सार्वजनिक गरेको छ । हालसम्मको तथ्यांकमा विश्वभर कोरोनाबाट मृत्यु हुनेहरूको संख्या ५४ लाख मात्रै रहेको उल्लेख छ ।संगठनको पछिल्लो विवरणअनुसार कोरोना महामारीबाट विश्वभर ज्यान गुमाउनेमध्ये एक तिहाइ संख्या भारतमा रहेको देखिएको छ । भारत सरकारले भने संगठनको प्रतिवेनमा गरिएको आकलनमाथि प्रश्न उठाएको छ ।